Nepali Essay on Dashain |

दशैं

Essay on Dashain

दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । यो नेपालीहरुको प्रमुख पर्व हो । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रुपमा मनाइन्छ । यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ । दशैं वर्षमा तीन अत्यन्त शुभ तिथिहरुमा एउटा हो अरु दुइवटा हुन् चैत्र (चैत) को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि । यी दिनहरुमा हिन्दूहरु नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन् ।

विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवैमा रुपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव-पर्व सुरु भएको हो ।

प्राचीन कालमा राजाहरु यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रार्थना गर्दथे । यस दिन ठाउँ-ठाउँमा मेलाहरु लाग्थे । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ । रावणको विशाल पुतला बनाएर जलाइन्छ ।

सामाजिक महत्व

दशैंको साँस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषिप्रधान देश हुन् । जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्नरुपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन । यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । दक्षिण एसियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भुटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।

नेपालीको दशैं

दशैं नेपालीहरु र विशेषतः नेपाली हिन्दूहरुको सबैभन्दा ठूलो पर्व हो । नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ ।

हिन्दू चान्द्र मासिक पन्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरु निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्छ ।

दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिन लाई नवरात्रि र दशौं दिनलाई दशमी वा दशैं भनिन्छ्र । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरु हुन् ।

प्रमुख पूजा र उत्सव

सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरुको महत्व अधिक रहेको पाइन्छ ।

महासप्तमी

सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामाग्री स्वरुप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरुप केरा, दारिम, धान, हलेदो, माने, कर्चर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रम्हाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ ।

यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।

महाष्टमी

नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली) को विशेष पूजा-आजा गरिन्छ । देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्न ज्यादै शक्तिशाली भद्रकाली करोडौं योनी (शक्ति) का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । यी दिनहरुमा मानिसहरु आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । शाकहरुले नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दन् ।

काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्बसाधारणको लागि खुल्ला रहन्छ । यसै दिन दशैंघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विर्सजन गर्छन् ।

महानवमी

नवरात्रिको नवौं दिन विशेष गरी महालक्ष्मी देवीको पूजा-आजा गरिन्छ । यसै दिन बिहान कलपूजा, हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरु पूजाको अतिरिक्त विशेष गरी दुइ वर्षदेखि दस वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ ।

विजया दशमी

नवरात्रिको दशौं दिनलाई विजयादशमी पनि भनिन्छ् । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ्र । सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दर्ुगा, अन्य देवदेवीहरुलाई चधाई आरती र पुष्पाञ्जलि गरिन्छ ।

यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विर्सजन गरी उठाएर अन्यत्र राख्नुपदर्छः

आवाहनं नजानामि नजानामि विर्जनम् ।
पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।।

यसपछि देवीका मूर्तिहरु र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रुपमा घाँटीमा लगाइन्छ । अनि घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीरवाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन् । टीका लाउँदा दिने आशिषः

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्धने ।
दानं सुर्युते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

यो टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ ।

घटस्थापनाको दिन हिन्दू धर्मावालम्बीहरुले आ-आफ्ना पूजाकोठा वा दशैं घरमा विधिपूवक दियो, कलश, देवीको पूजा गरी जौ, मकै लगायतका अन्न रोपेर जमरा राख्ने चलन छ । देवीको आराधना गरेर राखिएको जमरा विजयादशमीका दिन टिकासँगै लगाइन्छ । विहान जमरा राखेपछि हिन्दुहरुले घरघरमा र मठ मन्दिरमा पनि दैवी शक्तिका शप्तसति चण्डी पाठ गर्ने चलन छ ।

बडा दशैको प्रसाद जमराको वैज्ञानिक महत्व

बडादशैंको पहिलो दिन दशैघरमा घटस्थापना गरी नदीको बालुवा राखेर जौ छरिन्छ । त्यसपछि नवरात्रभरि शक्तिको प्रतीक देवी दुर्गा भवानीको नौ विभिन्न स्वरुपको पूजा गरिन्छ । यसरी मातृशक्तिको आह्वान, आराधना गर्दै दशैं घरमा उमारिएको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरुलाई अर्पण गरी प्रसादस्वरुप टीकासहित लगाउने परम्परा छ ।

संस्कृतमा यव भनिने जौ पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । यज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।

गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ । श्रीमदभागवत महापुराणमा पनि वामन अवताररुपी भगवान विष्णुको पूजा गर्दा लोकपालहरुले जमरा चढाएको प्रसंगबाट के बुझन सकिन्छ भने हिन्दु संस्कृतिमा जमराको महत्व परापूवकालदेखि नै थियो ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व कम छैन । आयुर्वेदिक ग्रन्थहरुमा जौ र अंकुरित जौबाट गर्नसकिने उपचारहरुको व्यापक उल्लेख भएको पाइन्छ । विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरुले पनि पुष्टि गरिसकेका छन् । चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पर्ूण्ाआहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो । अन्य हरिया सागपातमा भन्दा जौ वा अंकुरित जौमा पौष्टिक तत्व तुलनात्मकरुपमा बढी पाइन्छ । भारतीय चिकित्सकहरुले समेत जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिसकेका छन् । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई विजयादशमीको प्रसादका रुपमा प्रयोग ल्याइएको हुनुपर्छ ।

Also read: हरियो वन नेपालको  धन

                मेरो विद्यालय।

Reactions

Post a Comment

0 Comments